महाधिवेशनको संघारमा राप्रपा : मंसिर १० भित्र प्रतिनिधि छनोट गरिने


काठमाडौँ । मंसिरमा तय गरिएको केन्द्रीय महाधिवेशनको सरगर्मी बढेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक निर्वाचन कार्यतालिकालाई अन्तिम रूप दिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन तालिकामा सामान्य हेरफेर गर्दै आगामी मंसिर ४ देखि १० गतेभित्र देशभरका प्रदेश सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट गरिसक्ने निर्णय गरेको हो।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटका लागि सक्रिय सदस्यतालाई मुख्य आधार बनाइएको छ। नयाँ सक्रिय सदस्यता दर्ता (इन्ट्री) बन्द भइसकेको अवस्थामा समितिले दर्ता भएका सदस्यहरूका लागि समयसीमा तोकेको छ, जसअनुसार आवेदकहरूले कात्तिक २१ गतेभित्र तोकिएको शुल्क र आवेदनमा छुटेको फोटो अनिवार्य रूपमा बुझाइसक्नुपर्नेछ। उक्त म्यादभित्र शुल्क वा फोटो उपलब्ध नगराउनेहरूको सक्रिय सदस्यता आवेदन स्वतः अस्वीकृत हुने समितिले स्पष्ट पारेको छ।

संशोधित कार्यतालिकाअनुसार छानबिनपछि स्वीकृत भएका सक्रिय सदस्यहरूको अन्तिम नामावली कात्तिक ३० गते सार्वजनिक गरिनेछ। प्रकाशित नामावलीमा कुनै त्रुटि भएमा वा कसैको नाममा दाबी–विरोध गर्नुपरेमा मंसिर १ गतेभित्र सच्याउन सकिने व्यवस्था मिलाइएको छ।

योग्य सक्रिय सदस्यहरूमध्येबाट मंसिर १० गतेभित्र छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको फोटोसहितको विवरण मंसिर १२ गतेभित्र पार्टीको केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाइसक्नुपर्नेछ।

महाधिवेशनलाई व्यवस्थित र विवादरहित बनाउन प्रतिनिधि छनोटलगायतका सम्पूर्ण सांगठनिक प्रक्रियाहरू निर्धारित कार्यतालिकाअनुसार नै तीव्र गतिमा अघि बढाएको राप्रपाले जनाएको छ ।