रास्वपा सभापति लामिछानेको कटाक्ष- ‘के वडाध्यक्ष बन्न अब मै राजीनामा दिऊँ ?’


चितवन । सत्ता राजनीतिको छोटो यात्रामा प्रतिनिधिसभामा १८२ सिटको शक्तिशाली हैसियत बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पदलोलुपता र अवसरवादी प्रवृत्ति हाबी हुन थालेको भन्दै सभापति रवि लामिछाने स्वयंले चिन्ता व्यक्त गरेका छन्। शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा लामिछानेले पार्टी पंक्तिभित्र आधारभूत तहको नेतृत्व गर्न नखोज्ने तर सीधै ठूला पदमा आँखा लगाउने प्रवृत्ति बढेकोप्रति तिखो कटाक्ष गरे।

रास्वपामा यतिबेला वडा सदस्य र वडाध्यक्षजस्ता तल्लो तहका पदमा उम्मेदवार बन्ने आकांक्षीको खडेरी परेको छ। तर, मेयर र प्रदेश सांसदजस्ता उपल्लो पदमा भने आकांक्षीको भीड लागेको छ। कार्यकर्ताको यही मनोविज्ञानमाथि प्रहार गर्दै लामिछानेले व्यङ्ग्य गरे, “वडाध्यक्षमा निवेदन हालेको देखिनँ, एकैचोटि मेयर र माननीय बन्न खोज्ने ? वडाचाहिँ कसले हेर्छ ? वडाध्यक्ष हुन अब म नै सांसदबाट राजीनामा दिएर आउनुपर्ला जस्तो छ।”

वडा तहको जग बलियो नबनाई सीधै सत्ताको सिँढी उक्लिन खोज्नुले पार्टीका कार्यकर्ता अवसरको राजनीतितर्फ ढल्किएको छर्लङ्गै देखिएको लामिछानेको स्वीकारोक्ति थियो। बाहिर आदर्शका कुरा गरे पनि भित्रभित्रै पदका लागि मरिहत्ते गर्ने कार्यकर्ताको दोहोरो चरित्रप्रति उनी असन्तुष्ट देखिए ।

एउटा चुनावको अंकगणितलाई मात्र सफलता मान्न नहुने तर्क गर्दै लामिछानेले निष्ठामा अडिन नसक्नेहरूलाई राजनीतिबाटै बाहिरिन सुझाव दिए।