बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार


ढाका, २० कात्तिक । म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशङ्का गरिएका समूहसँग भएको गोली हानाहानपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ । बिहीबार राति भएको उक्त झडपमा एक सैनिकको मृत्यु भएको बङ्गलादेशी सेनाले जनाएको छ ।

सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपीआर) का अनुसार १५ देखि १६ जनाको सशस्त्र समूहले करिब १२० रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिकलाई अपहरण गरेको सूचना पाएपछि सुरक्षा बलले म्यान्माको सीमा नजिकै टेकनाफको रोङ्गिखालीस्थित पहाडी क्षेत्रमा उद्धार अभियान सञ्चालन गरेको थियो ।

गोली हानाहानका क्रममा सैनिक मोहम्मद तितास शेखको बायाँ काँधमा गोली लागेको थियो । अत्यधिक रक्तस्राव भएपछि उनको चोटकै कारण मृत्यु भएको सेनाले जनाएको छ । उनी २७ वर्षको थिए ।

बङ्गलादेशमा १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीले आश्रय लिइरहेका छन् । उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी म्यान्मामा भएको सैन्य दमनबाट ज्यान जोगाउन भागेर आएका हुन् ।

धेरैजसो शरणार्थी बङ्गलादेशको कोक्स बजार आसपासका विशाल शिविरमा बस्दै आएका छन् । त्यहाँ मानव तस्कर समूहले विदेशमा रोजगारी वा अन्यत्र जाने अवसर खोजिरहेका शरणार्थीलाई निशाना बनाउने गरेका छन् ।

सन् २०१७ मा म्यान्माको सैन्य कारबाहीका क्रममा रोहिङ्ग्या गाउँ जलाइएको र सर्वसाधारणको हत्या गरिएको घटनालाई लिएर नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहारसम्बन्धी मुद्दा चलिरहेको छ । उक्त मुद्दामा अदालतले यही नोभेम्बर १९ मा फैसला सुनाउने कार्यक्रम छ । रासस