रमेश दुलालको २३औँ काग सम्मेलन , यसरी बोलाए सयौं काग 


काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलालले काठमाडौंमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन्।

राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा शनिबार बिहान नारायणहिटी दरबार परिसरमा सम्मेलन गरिएको हो।

१७३ जीवजन्तु तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने दुलालले आफ्नै स्वरबाट काग कराएर सयौँ काग भेला पारेका थिए। बिहान ५ः३० देखि ६ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा टाढाटाढाबाट समेत कागहरू उडेर आएका थिए।

विगत २३ वर्षदेखि निरन्तर सम्मेलन गर्दै आएका दुलालले २५औँ संस्करणलाई भव्य रूपमा आयोजना गर्ने योजना रहेको बताए। कार्यक्रममा  राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल, सविन चाैहानलगाायतका कलाकारहरुको समेत सहभागिता रहेको थियो ।