युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता


इरान । इरानी सेनाले संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा आफू अहिले अझ बलियो र बढी प्रेरित भएको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले शनिबार सैन्य प्रवक्तालाई उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारी समाचार संस्था इर्नाका अनुसार, सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले प्रत्यक्ष सैन्य मुठभेडबाट अनुभव हासिल गरेपछि इरानी सशस्त्र बल अहिले पहिलेभन्दा बढी सतर्क र शक्तिशाली बनेको बताए ।

उनले भने, “इस्लामिक गणतन्त्रका सशस्त्र बल अहिले युद्ध सुरु हुँदाको अवस्थाभन्दा अझ बलिया भएका छन् । उनीहरूमा उच्च प्रेरणा, प्रतिबद्धता र आत्मविश्वास छ ।”

फेब्रुअरीको अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ ।

तेहरानले विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग ढुवानी हुने ‘स्ट्रेट अफ होर्मुज’बाट हुने आवागमन सीमित पार्ने प्रयास गर्दै आएको छ ।

अक्रामिनियाका अनुसार, उक्त रणनीतिक जलमार्गमा इरानी सशस्त्र बलको नियन्त्रण कायम छ । संयुक्त राज्य अमेरिकाले तेहरानका माग स्वीकार नगरेसम्म जलमार्ग बन्द रहने उनले बताए ।

उनले सर्वोच्च नेताको आदेशअनुसार इरानी सशस्त्र बलको जवाफ तत्काल र प्रभावकारी हुने तथा त्यसको कुनै भौगोलिक सीमा नहुने पनि बताए ।

यसै साता अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुजमा अवस्थित इरानको केश्म टापुमा आक्रमण भएको खबर सार्वजनिक गरेका थिए । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमण भएको पुष्टि गरे ।

शनिबार स्थानीय समाचार संस्था तस्निमले केश्म टापुमा दुईवटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । तर, त्यसबाट भएको क्षतिबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन । इरानी सरकारी टेलिभिजनले पनि उक्त टापुमा दुईवटा विस्फोट भएको जनाएको छ ।

यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, इरानी सेनाले शनिबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीले टापुमाथि उडिरहेको अमेरिकी ड्रोनलाई प्रहार गरी नष्ट गरेको जनाएको छ । यद्यपि, टापुमा भएको भनिएको आक्रमण र ड्रोन खसालिएको घटनाबीचको सम्बन्धबारे भने केही खुलाइएको छैन । एजेन्सी