काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युत्को उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको छ। आइतबार साँझ ६ः१५ बजे विद्युत्को उच्चतम माग रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार उक्त समयमा नेपालको कुल विद्युत् उत्पादन दुई हजार ४००.३० मेगावाट थियो। कुल उत्पादनमध्ये एक हजार ८१३ मेगावाट आन्तरिक खपत भएको थियो भने ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो।
यस वर्षको लक्ष्मीपूजामा निजी क्षेत्रका विद्युत् आयोजनाबाट एक हजार ५३६.५० मेगावाट विद्युत् उत्पादन भएको थियो। त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको प्राधिकरणले जनाएको छ।
यस अवधिमा तापीय आयोजनाबाट विद्युत् उत्पादन भएको थिएन भने भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था पनि आएन।
लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकाको विद्युत् माग ४८९.५० मेगावाट पुगेको थियो। उक्त समयमा विद्युत् प्रणालीको आवृत्ति ५०.१२० हर्ज रहेको र प्रणालीमा कुनै अवरोध नदेखिएको प्राधिकरणले जनाएको छ।
गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् माग बढेको देखिएको छ। २०८२ कात्तिक ३ गते परेको लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् माग एक हजार ७४५ मेगावाट थियो। त्यतिबेला कुल विद्युत् उत्पादन दुई हजार ७६० मेगावाट पुगेको थियो भने एक हजार १५ मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो। काठमाडौं उपत्यकाको माग ४०२.४९ मेगावाट रहेको थियो।
त्यस्तै, २०८१ कात्तिक १५ गतेको लक्ष्मीपूजामा राष्ट्रिय विद्युत् माग एक हजार ६०२.२० मेगावाट पुगेको थियो। उक्त दिन कुल विद्युत् उत्पादन एक हजार ८५५ मेगावाट र विद्युत् निर्यात २५२.९० मेगावाट रहेको थियो। काठमाडौं उपत्यकाको माग भने ३८०.५० मेगावाट थियो।




प्रतिक्रिया