फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ


दाङ । दाङमा फूलखेती गरेका किसानलाई यतिबेला फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।

घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित डिभाइन एग्रो फार्मले सयपत्री फूल टिपेर माला गाँस्न सुरु गरेको छ । कैलालीका दशरथ साउदले सञ्चालन गरेको उक्त फार्मले विगत आठ वर्षदेखि घोराहीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएको छ। यस वर्ष घोराहीको गैरागाउँमा एक बिघा भाडाको जग्गामा पाँच प्रजातिका सयपत्री फूल खेती गरिएको छ । यसैगरी घोराहीको झिङ्नीमा दुई बिघा क्षेत्रफलमा समेत फूल खेती गरिएको सञ्चालक साउदले बताए।

फार्मले सयपत्री फूल प्रतिकिलो रु पाँच सयका दरले बिक्री गरिरहेको छ भने एउटा माला रु एक सयदेखी रु एक सय ५० का दरले बिक्री गर्दै आएको उनको भनाइ छ । उत्पादन पर्याप्त भएकाले बुटवल, काठमाडौँ, भैरहवा, पोखरालगायतका सहरमा फूल बिक्रीका लागि पठाउने गरिएको साउदले बताउनुभयो । बाँकी जिल्लाभित्रै बिक्रीका लागि माला गाँस्न थालेको उनले बताए।

घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गर्दैआउनुभएका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन्। जिल्लामा मात्र नभई जिल्ला बाहिरबाट समेत फूलको माग आउने गरेको घोराही उपमहानगरपालिका–१४, झिगौरामा जलजला पुष्पखेती फार्मका सञ्चालक रोका मगरले बताए। बाहिर माग भए पनि पहिलो प्राथमिकता जिल्लामा नै दिने गरिएको उनले बताए।

“पहिले जिल्लालाई प्राथमिकता दिने गरेका छु”, रोका मगरले भने। उनले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बतउनुभयो । झिगौँरासँगै घोराही–५ धर्ना र घोराही–१६ तेरौटेमा पनि उनले फूलखेती गरेका छन् । उनले लामो समयदेखि फूलखेती गर्दै आएका छन्।

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दशैँ तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन्।

“दाङमा व्यावसायिकरूपमा फूलखेती कतै थिएन, काठमाडौँतिर फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले सुरु गरेको हुँ”, रोका मगरले भने । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको उनले बताए।

जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । “काठमाडौंँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, रोका मगरले भने। पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्नुभएका उहाँले बाह्रैमास फूल उत्पादन थालेका छन्।

वर्षाको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको रोका मगरले भनाइ छ । उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्री समेत गर्दै आएका छन्। उनले आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गरेका छन्।

फूलको माग दशैँ तिहारमा बढी हुने गरेको छ। यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको रोका मगरको भनाइ छ। जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत उनको आग्रह छ।

घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा फूलखेती गर्नुभएका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गरेका छन्। उनीहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि माला बिक्रीको तयारी सुरु गरिरहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरूको भनाइ छ। माला बनाएर शीतभण्डारमा राख्ने गरिएको छ ।

बुढा मगरले विगत ८ वर्षदेखि व्यावसायिकरूपमा फूल खेती गर्दै आएका छन्। उनले पनि अहिले फूले टिपेर माला बनाउन थालेका छन्। तिहारका लागि मालाको माग समेत हुन थालेको उनको भनाइ छ।

“माग हुन थालेसँगै फूल टिपेर माला बनाउन सुरु गरेका छौँ”, बुढा मगरले भने। उनका अनुसार उत्पादन भएको फूलको धेरै खपत जिल्लामा नै हुने गरेको छ। मालाका डिजाइनअनुसार मूल्य निर्धारण गरिन्छ । जिल्लामै व्यावसायिकरूपमा फूल खेती गर्न थालिएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको बुढा मगरले बताए।

बुढा मगरले अहिले ८ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन्। चाडपर्वसँगै पछिल्लो समय जिल्लामा हुने औपचारिक कार्यक्रममा समेत सयपत्रीको फूलको मालाको माग बढ्दै गएको छ।