वरिष्ठ पत्रकार ऋषि धमलाद्वारा विधिपूर्वक गाईको पूजा


काठमाडौं । हिन्दू धर्म, संस्कृति तथा परम्परामा गाईलाई माता समान मानेर श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने पवित्र दिन गाई तिहारका अवसरमा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले गाईको पूजा गरेका छन्।

धमलाले गाईलाई विभिन्न प्रकारका खानेकुरा खुवाउँदै विधिपूर्वक पूजा गरेका हुन्। हिन्दू धर्म र संस्कृतिमा गाईको विशेष धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व रहेको उल्लेख गर्दै उनले गाईको गोबरदेखि दूधसम्म मानव जीवनका लागि उपयोगी रहेको बताए।

हिन्दू परम्पराअनुसार गाईलाई माता समान मानिने भएकाले गाईको संरक्षण, सम्मान र पूजा गर्नु आफ्नो संस्कृति तथा मौलिक पहिचानको संरक्षणसँग जोडिएको उनको भनाइ छ।

गाई तिहारको अवसरमा शुभकामना व्यक्त गर्दै धमलाले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस् भन्ने कामना गरेका छन्।

उनले हाम्रो धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्दै भावी पुस्तासम्म यसको महत्त्व हस्तान्तरण गर्नुपर्नेमा समेत जोड दिएका छन्।