इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत


अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन् । उनले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको नजिक नपुगेको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको उल्लेख गर्दै उनले इरानका मागहरू व्यावहारिक नरहेको टिप्पणी गरे ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई सबै मोर्चामा युद्ध अन्त्य गर्ने तेहरानको प्रस्ताव स्वीकार गर्न वा कडा सैन्य प्रतिकारको सामना गर्न चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी मतदाताले आफ्नो निर्णय गरिसकेको उल्लेख गर्दै अब युद्ध अन्त्य गर्ने वा क्षेत्रीय द्वन्द्व चर्काउने भन्ने निर्णय वासिङ्टनको हातमा रहेको बताए ।

अराघचीले इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको जनाउँदै सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने सर्त पूरा गर्न अमेरिकालाई आग्रह गरेका थिए । प्रस्ताव अस्वीकार गरी युद्ध रोजेमा इरानी सेनाले कडा जवाफ दिने उनको चेतावनी थियो ।

तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले अमेरिकी मध्यावधि निर्वाचनको नतिजाका कारण युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थताका प्रयास रोकिएको बताए । निर्वाचनको परिणामले सबैलाई स्तब्ध पारेको उल्लेख गर्दै उनले मध्यस्थकर्ताहरूले पुनः संवाद सुरु गर्न अनुकूल वातावरण बन्न केही समय लाग्ने बताए ।