जेल जानुअघि श्रीमतीलाई भने ‘आई लभ यू’


काठमाडाैँ। बेलायती कमेडियन तथा अभिनेता रसेल ब्रान्डलाई बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा साढे १० वर्षको जेल सजाय सुनाइएको छ ।

सजायपछि सोमबार ५१ वर्षीय ब्रान्डलाई जेलतर्फ लैजान लाग्दा उनले दर्शकदीर्घामा रहेकी श्रीमती लौरा ब्रान्डतर्फ हेरे । केही क्षण रोकिएर  उनले श्रीमतीलाई ‘आई लभ यू’ भनेका थिए ।

लन्डनस्थित साउथवार्क क्राउन अदालतले बिहीबार उनलाई यौन अपराधमा दोषी ठहर गरेको थियो । सोमबार भने न्यायाधीशले सजाय निर्धारण गरेका हुन् । सन् २००४ देखि २००९ को अवधिमा चार महिलामाथि भएका यौन अपराधमा उनी दोषी ठहर भएका हुन् । जसमा एक बलात्कार र तीन यौन दुर्व्यवहारका घटना छन् ।

फैसला सुनाउने क्रममा न्यायाधीशले ब्रान्डलाई ‘यौन सिकारी’ को संज्ञा दिए । उनीमा असाधारण अहंकार रहेको र अदालतसमक्ष झुटको शृङ्खला प्रस्तुत गरेको न्यायाधीशको टिप्पणी थियो । सन् २०२३ मा सञ्चारमाध्यमले उनीमाथिका आरोप सार्वजनिक नगरेसम्म उनको ख्यातिले उनलाई जोगाइरहेको पनि न्यायाधीशले उल्लेख गरे ।

सुनुवाइका क्रममा पीडित महिलाहरूले आफूले भोग्नुपरेको मानसिक आघातबारे अदालतमा बयान दिएका थिए । सन् २००९ मा ब्रान्डको घरमा बलात्कृत भएकी एक महिलाले त्यसपछि आफूलाई एचआईभी संक्रमण हुने डरले लामो समय सताएको बताइन् ।

अर्की पीडितले टेलिभिजनमा ब्रान्डलाई देख्दासमेत आफूलाई शारीरिक रूपमा असहज महसुस हुने बताइन् । उनले ब्रान्डलाई कुनै पश्चात्ताप नभएको यौन सिकारीका रूपमा चित्रण गर्दै आफ्नो पीडा व्यक्त गरिन् ।

सुनुवाइका क्रममा ब्रान्डकी श्रीमती लौरा पनि अदालतमा उपस्थित थिइन् । न्यायाधीशले सजाय सुनाइरहँदा उनी भुइँतिर हेरेर बसेकी थिइन् ।

ब्रान्डका वकिलले भने उनी अहिले पूर्ण रूपमा परिवर्तन भइसकेको दाबी गर्दै सजायमा सहुलियत दिन आग्रह गरेका थिए । लागुऔषध दुर्व्यसनमा परेकाहरूको पुनःस्थापना र समाजसेवामा उनले गरेको योगदानलाई ध्यान दिनुपर्ने वकिलको तर्क थियो । घटना १७ वर्ष पुरानो भएको र सजायले उनका १० वर्षीय छोरासहित परिवारका सदस्यलाई समेत असर पार्ने जिकिर पनि गरिएको थियो ।

तर सरकारी वकिलले ब्रान्डका अपराध गम्भीर प्रकृतिका रहेको र त्यसले पीडित महिलाहरूमा गहिरो असर पारेको भन्दै कडा सजायको माग गरेका थिए । अदालतले अपराधको गम्भीरतालाई आधार मान्दै उनलाई साढे १० वर्षको जेल सजाय सुनाएको बीबीसीको समाचारमा उल्लेख छ ।