तिहारमा २४ घण्टै देउसी–भैलो खेल्न पाइने


काठमाडौं । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ। मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाउँदै आवश्यक नियम तथा सर्त पालना गरेर सुरक्षित र मर्यादित रूपमा देउसी–भैलो खेल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

मन्त्रालयले नेपालीहरूको मौलिक संस्कृति, धर्म र परम्परासँग जोडिएको तिहार पर्वलाई व्यवस्थित बनाउन देउसी–भैलो कार्यक्रम सञ्चालनमा समयको बन्देज नराख्ने जनाएको छ। यद्यपि, कार्यक्रम सञ्चालन गर्दा सातवटा सर्त अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

परिपत्रअनुसार देउसी–भैलो पूर्ण रूपमा स्वेच्छिक हुनुपर्नेछ। कार्यक्रममा सहभागी हुने वा नहुने निर्णय व्यक्तिको इच्छामा छाड्नुपर्ने र कसैलाई पनि चन्दा, दक्षिणा वा रकम दिन दबाब दिन नपाइने व्यवस्था गरिएको छ।

त्यस्तै, कुनै जातजाति, धर्म, भाषा, लिंग वा समुदायलाई लक्षित गरी घृणा, द्वेष तथा विभेद फैलाउने अश्लील गीत, संगीत, नृत्य र नाराको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।

मन्त्रालयले तिहारका नाममा जुवा तथा तास खेल्ने गतिविधि नगर्न पनि सचेत गराएको छ। सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने कार्य नगर्न निर्देशन दिइएको छ।

यसैगरी, ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न नपाइने परिपत्रमा उल्लेख छ। अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष ध्यान दिँदै शान्ति र सुव्यवस्था कायम राख्न मन्त्रालयले आग्रह गरेको छ।