एनपीएलमा चितवनमाथि काठमाण्डु गोर्खाजको १० रनको रोमाञ्चक जित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार भएको खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलको सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरे। त्यस्तै डन माउस्लीले ३२ बलमा ३ चौकासहित २९ रन जोडे।

कामिल मिशाराले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३ छक्का र १ चौकाको मद्दतमा २८ रन बनाए भने अर्जुन साउदले २१ बलमा ४ चौकासहित २३ रनको योगदान दिए। तर, अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा चितवन लक्ष्यसम्म पुग्न सकेन।

काठमाण्डुका लागि सहज राचीगेले २ विकेट लिए। कप्तान करण केसी, जहनान्द खान, सन्तोष यादव र गणेश गौतमले समान १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डु गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि काठमाण्डु १० रनले विजयी बनेको हो।