‘भारतको विरोध र प्रशंसा गरेर मात्रै नेपालले प्रगति गर्न सक्दैन’ : ऋषि धमला


काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक तथा वरिष्ठ पत्रकार ऋषि धमलाले नेपालले भारत र चीनसँग सन्तुलित कूटनीतिक सम्बन्ध अघि बढाउनुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधनले नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा कमजोर नरहेको सन्देश दिएको बताए।

उनले नेपालको लोकतन्त्र संस्थागत गर्न भारतले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै नेपालमा प्रजातन्त्र स्थापनादेखि नै भारतको सहयोग महत्वपूर्ण रहेको धारणा राखे। नेपालको विकास र समृद्धिका लागि भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा पनि उनले जोड दिए।

तर भारतसँगको सम्बन्धलाई लिएर अनावश्यक विरोध वा अतिप्रशंसा दुवै गर्न नहुने उनको भनाइ थियो।

‘भारतको विरोध गरेर मात्रै पनि हुँदैन र प्रशंसा धेरै गरेर पनि नेपालले उन्नति र प्रगति गर्न सक्दैन,’ धमलाले भने।

उनले नेपाल–भारतबीच हुने कूटनीतिक वार्ता तथा संवादमा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताए। छिमेकी मुलुकसँगको सम्बन्ध भावनात्मकभन्दा पनि राष्ट्रिय स्वार्थ र पारस्परिक हितका आधारमा अघि बढाउनुपर्ने उनको धारणा थियो।

धमलाले नेपालले भारत र चीन दुवैसँग समान ढंगले सन्तुलित कूटनीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्दै नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र विकासलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उनले बताए।