देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ


बुटवल । देउसी–भैलो कार्यक्रमका नाममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसी–भैलो कार्यक्रममा नृत्य प्रदर्शन गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार गएराति इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रममार्फत नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण गर्न आग्रह गरेको छ । साथै, सार्वजनिक स्थानमा स्वेच्छाचारी तथा अमर्यादित रूपमा अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

तिहारमा मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिका रूपमा खेलिने देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र मौलिक स्वरूपमै सञ्चालन गर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।