भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो


२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये दुई जनाको शव हेटौँडा अस्पताल ल्याइएको छ भने अन्य आठ जनाको पहिचान खुल्न बाँकी छ ।

पहिचान खुल्नेमा माइक्रोबस चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् ।

यसैबीच दुर्घटनास्थलनजिकैको झाडीमा थप एक बालक घाइते अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बालकलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ । उनी फेला परेसँगै दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ । यसअघि पाँच जनालाई उद्धार गरी अस्पताल पठाइएको थियो ।

बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको थियो । प्रारम्भिक विवरणअनुसार गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार कार्य गरेका थिए । दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ ।