कोहाट । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा बुधबार अवैध सुन उत्खननविरुद्धको अभियान चलाएर फर्कँदै गरेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। उक्त आक्रमणमा कम्तीमा १० सुरक्षाकर्मीको मृत्यु भएको छ भने जवाफी कारबाहीमा १८ जना चरमपन्थी मारिएका छन्।
कोहाट प्रहरीका प्रवक्ता नोमान जेबले बीबीसी उर्दुलाई दिएको जानकारीअनुसार मृत्यु हुने सुरक्षाकर्मीमा डीएसपी दर्जाका अधिकारी हैदर जमानसमेत रहेका छन्। खैबर पख्तुनख्वा प्रहरीले एक विज्ञप्ति जारी गर्दै प्रहरी टोलीले कोहाट सहरनजिकैको दराबुकच क्षेत्रमा स्थानीय प्रशासनसँग मिलेर संयुक्त अभियान सञ्चालन गरेको जनाएको छ।
प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘अभियान पूरा गरेर प्रहरी टोली फर्कँदै गर्दा आपराधिक तत्त्वहरूको इसारामा फितना-अल-खवारिजले आक्रमण गर्यो।’ आक्रमणकारीहरूको प्रहरीले निकै बहादुरीका साथ मुकाबला गरेको र त्यस क्रममा १८ जना खवारिज मारिएको विज्ञप्तिमा उल्लेख छ। पाकिस्तान सरकारले प्रतिबन्धित तहरीक-ए-तालिबानसँग आबद्ध चरमपन्थीहरूका लागि फितना-अल-खवारिज शब्द प्रयोग गर्ने गर्छ।
कोहाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ताहिरका अनुसार घटनापछि १० जना प्रहरीको शव र १० जना घाइतेलाई अस्पताल ल्याइएको थियो। घाइतेमध्ये गम्भीर अवस्थाका दुई जनालाई पेसावर रिफर गरिएको छ भने आठ जनाको कोहाट अस्पतालमै उपचार भइरहेको छ।
प्रहरी र स्थानीय नागरिक प्रशासनले दराबुकचमा अवैध सुन उत्खननमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाही चलाएको थियो। यस घटनाले आपराधिक गिरोह र फितना-अल-खवारिजबीचको कथित साँठगाँठसमेत उजागर गरेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता मुहम्मद नौमान जेबका अनुसार आक्रमणकारीहरूले प्रहरीमाथि लगातार गोली प्रहार गर्नुका साथै प्रहरीका पाँच वटा गाडीमा आगजनीसमेत गरेका थिए। खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले सुरक्षाकर्मीको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाको विस्तृत प्रतिवेदन माग गरेका छन्।
पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडिजका अनुसार अक्टोबर ३० देखि नोभेम्बर ५ को बीचमा पाकिस्तानको सुरक्षा स्थितिमा निकै अस्थिरता देखिएको छ। यस अवधिमा खैबर पख्तुनख्वा र कबायली जिल्लाका केही भागमा चरमपन्थी गतिविधि पुनः बढेपछि सुरक्षा अपरेसनलाई पनि तीव्र पारिएको छ।
पाकिस्तानको केन्द्र सरकारले पाकिस्तान तहरीक-ए-इंसाफको नेतृत्वमा रहेको प्रान्तीय सरकारमाथि ‘आतंकवादविरुद्धको लडाइँबाट जानाजानी टाढा बसेको’ आरोप लगाउँदै गत अक्टोबर ११ देखि खैबर पख्तुनख्वामा गभर्नर शासन र संकटकाल लागू गरेको छ।




प्रतिक्रिया