काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत कीर्तिमानभन्दा टिमको जितलाई प्राथमिकता दिने बताएका छन् ।
पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले प्रतियोगितामा टिमका लागि महत्त्वपूर्ण दुई अंक हासिल गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताए । पोखराविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट लिएका उनले व्यक्तिगत उपलब्धिभन्दा टिमको जित नै महत्त्वपूर्ण हुने धारणा राखे ।
आफूले ह्याट्रिक पूरा गरेको कुरा तत्काल थाहा नपाएको पनि उनले खुलासा गरे । टिमका साथीहरू आएर जानकारी गराएपछि मात्रै ह्याट्रिक भएको थाहा पाएको उनको भनाइ थियो ।
लामिछानेले क्रिकेटमा बलरले कति विकेट लियो भन्नेभन्दा पनि खेलको कुन परिस्थिति र समयमा बलिङ गरिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए ।
अन्य बलरले अर्को इन्डबाट दबाब सिर्जना गरिदिएकाले आफूलाई बलिङ गर्न सहज भएको उनले उल्लेख गरे ।
पोखराविरुद्धको खेलमा कप्तान लामिछानेले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि विराटनगरले सहज जित निकालेको थियो । उनको यो प्रदर्शनले व्यक्तिगत रूपमा कीर्तिमान कायम गर्नुका साथै टिमलाई महत्त्वपूर्ण जित दिलाउन निर्णायक भूमिका खेलेको छ ।




प्रतिक्रिया