वीरगञ्ज । छठ पर्वका लागि आवश्यक पूजासामग्री तथा अन्य वस्तु भित्र्याउँदा भन्सारमा देखिने समस्या समाधानका लागि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमलाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
धमलाले केही समयअघि तत्कालीन गृहमन्त्री सुदन गुरुङले समेत अनुगमन गरेको वीरगञ्जस्थित मुख्य भन्सार तथा सानो भन्सार क्षेत्रको निरीक्षण गर्दै छठ पर्वका सामग्री सहज रूपमा भित्र्याउने व्यवस्थाबारे चासो व्यक्त गरेका हुन्।
उनले छठ पर्वमा प्रयोग हुने आवश्यक पूजासामग्री निःशुल्क ल्याउन पाउने व्यवस्था गर्नुपर्ने र १० हजार रुपैयाँभन्दा कम मूल्यका सामग्रीमा समेत भन्सार छुट उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।
भन्सार प्रक्रियाका कारण छठ पर्वका लागि आवश्यक सामग्री ल्याउन सर्वसाधारणले असहजता भोग्न नपरोस् भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
यस विषयमा भौतिक विकासमन्त्री सुनिल लम्सालसँग आवश्यक पहल र समन्वय गरेर समस्या समाधानका लागि आफूले प्रयास गर्ने धमलाले प्रतिबद्धता व्यक्त गरेका छन्।
छठ पर्वका लागि आवश्यक सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न तथा सीमावर्ती क्षेत्रका नागरिक र श्रद्धालु भक्तजनलाई राहत पुर्याउन सरकार र सम्बन्धित निकायले आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ छ।






प्रतिक्रिया