वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा सम्पन्न गराउने उद्देश्यले स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार ऋषि धमलाले वीरगञ्जस्थित श्रीसिया नदीको किनारमा अनुगमन गरेका छन्।
छठ पर्वको तयारी, नदी किनारको व्यवस्थापन, श्रद्धालु भक्तजनको सुरक्षा तथा पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गराउने विषयमा जानकारी लिन धमलाले स्थलगत अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा उनले छठ पर्वमा व्रतालु तथा श्रद्धालु भक्तजनलाई आवश्यक पर्ने सुविधा, सुरक्षा व्यवस्था र व्यवस्थापनका विषयमा चासो व्यक्त गरेका थिए। छठ पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायले आवश्यक तयारी गर्नुपर्नेमा उनले जोड दिएका छन्।
यसैगरी, धमलाले केही समयअघि तत्कालीन गृहमन्त्री सुदन गुरुङले समेत अनुगमन गरेको वीरगञ्जस्थित मुख्य भन्सार तथा सानो भन्सार क्षेत्रको पनि निरीक्षण गरेका छन्।
छठ पर्वका लागि आवश्यक पूजासामग्री तथा अन्य वस्तु सहज रूपमा भित्र्याउन सकिने व्यवस्थाबारे चासो राख्दै उनले भन्सार क्षेत्रमा सहजीकरणको विषय उठाएका हुन्।
उनले छठ पर्वमा प्रयोग हुने आवश्यक सामग्री निःशुल्क ल्याउन पाउने व्यवस्था गर्नुपर्ने तथा १० हजार रुपैयाँभन्दा कम मूल्यका सामग्रीमा समेत भन्सार छुट उपलब्ध गराउनुपर्ने धारणा राख्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।
छठ पर्वका लागि आवश्यक सामग्रीको सहज उपलब्धता र भन्सार प्रक्रियामा सहजीकरण हुँदा सीमावर्ती क्षेत्रका नागरिक तथा श्रद्धालु भक्तजनलाई राहत पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया