सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको हाइस दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइसहित परिवारका ६ सदस्य गुमाएका अवधेश यादवको घरमा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमला पुगेका छन्।
शनिबार अवधेशको घर पुगेका धमलाले शोकसन्तप्त परिवारसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्। उनले दुर्घटनामा ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारका सदस्यलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरे ।
भेटका क्रममा अवधेश यादवले दुर्घटनामा आफ्नी श्रीमतीले लगाएका गरगहना तथा एक लाख रुपैयाँ नगदसमेत हराएको जानकारी धमलालाई गराएका थिए।
अवधेशबाट उक्त जानकारी पाएलगत्तै धमलाले सर्लाहीका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन सम्पर्क गरी घटनाबारे जानकारी गराएका छन्। उनले दुर्घटनामा हराएका गरगहना र नगदको खोजीका लागि आवश्यक पहल तथा सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका छन्।
गत बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा अवधेश यादवकी आठ महिनाकी गर्भवती श्रीमती २८ वर्षीया पुनम यादव, पाँच वर्षीया दीपिका, सात वर्षीया दीक्षा, १० वर्षीया अनुकुमारी तथा २६ वर्षीय विकेश यादव र १७ वर्षीय सुधेश यादव रहेका थिए।





प्रतिक्रिया