काठमाडौं । लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेसँगै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफ दौडबाट बाहिरिएको छ। विराटनगरको हारसँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ।
प्लेअफमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्रवेश गरेका छन्। समूह चरणबाटै बाहिरिने टोलीमा पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्स रहेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीको जितमा ओपनर डार्सी शर्ट र आसिफ शेखले समान ४५ रन बनाए। अलि शेखले २७ रन जोड्दा सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै अविजित २५ रन बनाए। ११ बल सामना गरेका उनले तीन छक्का र एक चौका प्रहार गरे।
अन्तिम ओभरमा रुवेन ट्रम्पलमानले छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए।
विराटनगरका लागि अपराजित पौडेलले दुई विकेट लिए भने चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६६ रन बनाएको थियो।
विराटनगरका चरिथ असलंका सर्वाधिक रन बनाउने खेलाडी बने। उनले ४३ बलमा ६ छक्का र एक चौकासहित ६४ रनको अर्धशतकीय पारी खेले। शुभम रन्जानेले अविजित ३१ तथा इमरान शेखले २४ रन बनाए। इमरान रिटायर्ड हर्ट हुँदै मैदान छाडेका थिए। लोकेश बमले १५ रनको योगदान दिए।
लुम्बिनीका किशोर महतोले दुई विकेट लिए भने अभिशेष गौतम र रुवेन ट्रम्पलमानले एक–एक विकेट लिए।




प्रतिक्रिया