अछाममा भीरबाट लडेर एकजनाको मृत्यु


अछाम । अछाममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–१, बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा शुक्रबार (कात्तिक २७) राति बुढा बासाल्लानजिकैको भीरबाट लडेर १५० मिटर तल खसेका थिए । उनीसँगै आएका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि भीरबाट खसेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी पविन्द्रबहादुर बम्मले जानकारी दिए ।

घाइते दुवैजनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी ढकारीमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् गणेश ‘डिस्चार्ज’ भएका छन् ।

बिर्खेलाई थप उपचारका निम्ति जिल्ला अस्पताल मंगलसेनमा पठाइएको थियो । उपचारका क्रममा शनिबार (कात्तिक २८) उनको मृत्यु भएको एसपी बम्मले जानकारी दिए । बिर्खेको शव जिल्ला अस्पतालमा राखिएको उनले बताए ।