सूर्यविनायकमा कांग्रेसको डिजिटल अभियान सुरु


भक्तपुर । नेपाली कांग्रेसले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट डिजिटल अभियान सुरु गरेको छ । ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिकामा भने भोलिदेखि अभियान सञ्चालन गरिने भएको छ ।

अभियान सञ्चालनका लागि कांग्रेसले केन्द्रीय सदस्य तीर्थ लामालाई तीनवटै नगरपालिकाको जिम्मेवारी दिएको छ । पार्टीले केन्द्रीय सदस्यहरूलाई विभिन्न पालिकाको जिम्मेवारी तोकेर संगठन सुदृढीकरणसँगै डिजिटल विस्तारको नीति अघि बढाएको हो ।

अभियानअन्तर्गत प्रत्येक वडामा ‘डिजिटल प्रतिनिधि’ चयन गर्ने प्रक्रिया अघि बढाइएको छ । चयन भएका प्रतिनिधिमार्फत वडा तहमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गरी पार्टीका गतिविधि, सूचना र सन्देश कार्यकर्ता तथा शुभचिन्तकसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

त्यस्तै, पार्टीका क्रियाशील सदस्य, समर्थक र शुभचिन्तकलाई समेटेर पालिकास्तरीय आधिकारिक ह्वाट्सएप समूह निर्माण गर्ने योजना पनि छ । केन्द्रीय तथा माथिल्ला निकायबाट आउने निर्णय, निर्देशन र कार्यक्रम स्थानीय तहसम्म छिटो तथा व्यवस्थित रूपमा पुर्‍याउन समूहले सहयोग गर्ने कांग्रेसको अपेक्षा छ ।

अभियान कार्यान्वयनका क्रममा केन्द्रीय सदस्य लामाले तीनवटै नगरपालिकाका नगर सभापति तथा वडा सभापतिहरूसँग प्रत्यक्ष भेटघाट र समन्वय गरी कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनेछन् ।

पार्टी संगठनलाई डिजिटल प्रविधिसँग जोडेर सूचना सम्प्रेषण र संगठनात्मक समन्वयलाई प्रभावकारी बनाउने कांग्रेसको नीतिअनुसार अभियान सञ्चालन गरिएको लामाले बताए ।