काठमाडौँ । टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।
सम्मेलनका क्रममा उनले जलवायु वित्तसम्बन्धी करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउँदै नेपालको प्राथमिकता र अतिकम विकसित राष्ट्रहरूको सरोकार अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए ।
अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । उनले सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई नयाँ सदस्यका रूपमा समावेश गराउन पहल गर्नुका साथै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए ।
भ्रमणका क्रममा वाग्लेले विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको आगामी अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालले कोप–३१ मा उठाएका विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले वाग्लेले पाँच प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए । छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसङ्घका महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए ।
त्यसैगरी, उनले हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका विषयमा छलफल गरेका थिए । जेनेभास्थित विश्व मौसम विज्ञान सङ्गठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका थिए ।




प्रतिक्रिया