काठमाडौँ । नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकार बहुदलीय लोकतान्त्रिक प्रणालीप्रति अनुदार बन्दै गएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकार गठन भएको साढे सात महिना बितिसक्दा पनि जनताले अनुभूति गर्ने गरी कुनै काम हुन नसकेको बताए । सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उनले मन्त्रिपरिषद्का बैठकहरू कर्मचारी सरुवा गर्ने र विदेशी ऋण स्वीकृत गर्ने विषयमा मात्र सीमित भएको दाबी गरे ।
रिजालले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्तिहरू विवादास्पद बनेको र कर्मचारीतन्त्रमा त्रासको वातावरण सिर्जना गरिएको बताए । ‘प्रहरी र प्रशासनको चरम दुरुपयोग गरिएको छ,’ उनले भने, ‘प्रधानमन्त्री बालेन दलहरूसँग संवाद गर्न चाहनुहुन्न । आसन्न भारत भ्रमणका विषयमा समेत उहाँले पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दल र परराष्ट्रविद्हरूसँग कुनै परामर्श गर्नुभएको छैन । समग्रमा यो सरकारले बहुदलीय प्रणालीमाथि नै विश्वास गरेको देखिँदैन ।’
कूटनीतिक क्षेत्रमा सरकार पूर्णतः असफल भएको टिप्पणी गर्दै रिजालले भारत र चीनसँग कुनै ठोस सहमति हुन नसकेको र मुलुकले आर्थिक लाभ हासिल गर्न नसकेको उल्लेख गरे ।
उनले प्रधानमन्त्री शाहको कार्यशैलीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वयं आक्रान्त बनेको जिकिर गरे । संसदीय दलको नेता भएर पनि बालेनले संसदीय दलको बैठक नबोलाएको, पार्टी बैठकमा सहभागी नभएको र प्रेससँग समेत अन्तरक्रिया नगरेको रिजालको भनाइ छ । ‘लोकतान्त्रिक प्रक्रियाबाट अघि बढेका रास्वपा सभापति रवि लामिछाने यस विषयमा गम्भीर बन्नुपर्छ,’ उनले भने ।
यद्यपि, मुलुकको विकास निर्माण र समृद्धिका विषयमा दलहरू विभाजित हुन नहुनेमा जोड दिँदै उनले रास्वपा नेतृत्वको सरकारले राम्रो काम गरोस् भन्ने एमालेको शुभकामना रहेको बताए ।
अर्को एक प्रसङ्गमा नेता रिजालले आगामी स्थानीय तहको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले एकताबद्ध भएर होमिन लागेको स्पष्ट पारे ।




प्रतिक्रिया