बालेन सरकारले जनतामाथि शोषण गरिरहेको छ, यो आतंककारी सरकार हो’- नेता चौधरी


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मेटमणि चौधरीले पुराना दलहरूप्रतिको इगो र रिसरागका कारण बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारबाट जनताले कुनै पनि सकारात्मक नतिजा पाउन नसक्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौधरीले पुराना दलहरूको बेथिति र आन्तरिक असन्तुष्टिका कारण जनताले विकल्प खोजेको भए पनि बालेन सरकार सिद्धान्त र नीतिका आधारमा भन्दा पनि बदलाको भावनाबाट निर्देशित भएको आरोप लगाए।

‘कांग्रेस, एमाले र नेकपाजस्ता पुराना दलहरूमा आन्तरिक रिसराग थियो, एकले अर्कालाई गाली गर्थे र आधिकारिक उम्मेदवार हराउनसमेत रास्वपालाई मत दिए,’ नेता चौधरीले भने, ‘तर, आफ्नै कुनै प्रष्ट सिद्धान्त र नीतिभन्दा पनि पुराना दलहरूलाई गाली गरेर आएको रास्वपा नेतृत्वको बालेन सरकारले जनतालाई राम्रो रिजल्ट दिँदैन।’

नेता चौधरीले बालेन सरकारले पहिलो प्रहार नै सुकुम्बासी बस्तीमाथि गरेको टिप्पणी गरे। काठमाडौँदेखि देशैभर ‘यो राज्य धनीहरूको मात्रै हो’ भन्ने मनोविज्ञानका साथ सरकारले डोजर चलाएको उनको भनाइ थियो।
‘पुराना दलहरूसँगको इगोका कारण बनेको बालेन सरकारले सर्वप्रथम सुकुम्बासी बस्तीमा डोजर लगायो,’ चौधरीले भने, ‘यो सरकार रिस, राग, इगो र बदला लिने भावनाले बनेको थियो, जसको पहिलो प्रहार नै गरिब र सुकुम्बासीहरूमाथि भयो।’

त्यस्तै, सरकारले ल्याएको बजेट र बढेको महँगीप्रति लक्षित गर्दै उनले शिक्षा, स्वास्थ्य र बिजुलीमा भ्याट लगाइएको बताए। १८ सय रुपैयाँमा पाइने चामल अहिले करिब ३ हजार रुपैयाँ प्रतिबोरा पुगेको र ग्याससमेत नपाउने अवस्था सिर्जना भई महँगीले सीमा नाघेको भन्दै सरकारले जनतामाथि शोषण गरिरहेको उनले आरोप लगाए। विगत आठ महिनामा जनताले अपेक्षा गरेअनुसारको कुनै पनि नतिजा आउन नसकेको र सरकार देशप्रति गम्भीर बन्न नसकेको उनको निष्कर्ष छ।

बालेन सरकारले निजी क्षेत्र, प्रशासन र पत्रकारिता क्षेत्रसमेत आतंकित पारेको नेता चौधरीको दाबी छ। प्रधानन्यायाधीश र प्रधानमन्त्री भइसकेका व्यक्तिलाई समेत मध्यरातमा गिरफ्तार गर्ने काम भएको उल्लेख गर्दै उनले बालेन नेतृत्वको सरकार आतंककारी शैलीमा चलेको बताए।

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि देशको अर्थतन्त्रमा सुधार हुन्छ भन्ने जनताको अपेक्षा विपरीत उनले अर्थतन्त्र सुधारका लागि कुनै पनि काम गर्न नसकेको चौधरीले बताए।
कम्युनिष्ट आन्दोलन र एकताका सन्दर्भमा बोल्दै नेता चौधरीले देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमाले भए पनि अध्यक्ष केपी शर्मा ओली पदमा रहुन्जेल एकता असम्भव रहेको बताए।

‘पहिले कम्युनिष्ट एकता ओलीजीले नै ध्वस्त पार्नुभएको हो,’ चौधरीले थपे, ‘अब पनि फेरि एकताको चर्चा चलेको छ तर ओलीजीले एक हुन दिनुहुन्न, यदि भइहाले पनि त्यसलाई ध्वस्त पार्नुहुन्छ।’