काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले समयमै आफूलाई नसच्याए छठ पर्वपछि जनता सडकमा आउन सक्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्ताे चेतावनी दिएका हुन् ।
सरकारले समयमै आफ्नो कार्यशैली नसच्याए र सरकार निर्माण गर्ने दल रास्वपाले पनि आफ्नो विधानमा रहेको विकल्प तथा फिर्ता बोलाउने व्यवस्थाको प्रयोग नगरे जनताले सडकबाट दबाब दिन सक्ने उनकाे भनाइ छ।
‘सरकारले बेलैमा आफूलाई सच्याएन भने र त्यो सरकार बनाउने दलले पनि उहाँले विधानमै व्यवस्था गर्नुभएको विकल्पको व्यवस्था, फिर्ता बोलाउने व्यवस्था प्रयोग गर्नुभएन भने र यही स्थिति रह्यो भने पक्कै पनि छठ पर्वपछि केही विषयमा मानिसहरू सडकमा आउन थाल्नेछन्,’ उनले भने ।
सरकार परिवर्तनका लागि प्रत्येकपटक जनता सडकमा आउनुपर्ने अवस्था नआओस् भनेरै संसदीय व्यवस्थाको परिकल्पना गरिएको विश्वकर्माको भनाइ थियो । तर संसद्लाई नै बेवास्ता गर्दै प्रधानमन्त्री संसद्बाट भाग्न थालेको अवस्थामा सांसद र उनीहरूलाई निर्वाचित गर्ने जनता पनि सडकमा आउन सक्ने उनले बताए ।
‘प्रत्येक सरकार बदलिनका लागि जनता सडकमा आउन नपरोस् भन्नका लागि नै हामीले संसदीय परिपञ्चको परिकल्पना गरेका हौँ,’ उनले भने ।




प्रतिक्रिया