जय शाह पुनः आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित


एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाह पुनः निर्विरोध निर्वाचित भएका छन् । आइतबार इन्डोनेसियाको बालीमा सम्पन्न आईसीसी बोर्ड बैठकले शाहलाई थप तीन वर्षका लागि अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो

आईसीसीका सदस्य राष्ट्रहरूले संस्थामा स्थिरता र निरन्तर नेतृत्व आवश्यक रहेको भन्दै शाहको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई बोर्डका सदस्यहरूले सर्वसम्मत रूपमा अनुमोदन गरेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

शाहले सन् २०२४ डिसेम्बरमा आईसीसी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको पहिलो तीन वर्षे कार्यकाल सन् २०२७ डिसेम्बरसम्म रहनेछ । पुनः निर्वाचित भएसँगै उनले दोस्रो कार्यकाल पनि पूरा गर्नेछन् र सन् २०३० डिसेम्बरसम्म आईसीसी अध्यक्षको जिम्मेवारीमा रहनेछन् ।

आईसीसीको विधानअनुसार अध्यक्षले अधिकतम दुई कार्यकालसम्म जिम्मेवारी सम्हाल्न पाउने व्यवस्था छ । प्रत्येक कार्यकाल तीन वर्षको हुने प्रावधान रहेको छ ।

आईसीसीले जारी गरेको विज्ञप्तिमा शाहको पुनर्नियुक्तिले क्रिकेटको महत्वपूर्ण चरणमा संस्थालाई स्थिर नेतृत्व प्रदान गर्ने उल्लेख गरेको छ । विश्वभर क्रिकेटको विस्तार, दर्शक संख्या वृद्धि तथा व्यावसायिक विकासलाई संस्थाको प्रमुख रणनीतिक प्राथमिकताका रूपमा अघि बढाइएको आईसीसीले जनाएको छ ।

यसका साथै सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलकुदमा क्रिकेटको पुनरागमनलाई पनि आईसीसीले महत्वपूर्ण अवसरका रूपमा लिएको छ । क्रिकेटको विश्वव्यापी लोकप्रियता बढाउने, नयाँ दर्शक जोड्ने तथा खेलाडीहरूको सहभागिता र विकासका अवसर विस्तार गर्ने योजनामा समेत शाहको आगामी कार्यकाल केन्द्रित रहने अपेक्षा गरिएको छ ।

पुनः अध्यक्षमा निर्वाचित भएपछि जय शाहले आईसीसीको नेतृत्व गर्न पाउनु आफ्नो लागि विशेष सम्मान र जिम्मेवारी भएको बताएका छन् ।

उनले विश्वभर क्रिकेटको हित र विकासका लागि सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । क्रिकेटको सबैभन्दा ठूलो शक्ति मानिसहरूलाई एकताबद्ध बनाउने क्षमता भएको उल्लेख गर्दै शाहले अहिलेका योजनालाई व्यवहारमा उतारेर भावी पुस्ताका लागि दीर्घकालीन उपलब्धि हासिल गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

यस्तै, इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) का अध्यक्ष रिचर्ड थम्पसनले पनि शाहलाई पुनः नियुक्तिका लागि बधाई दिएका छन् ।

थम्पसनले क्रिकेटको परम्परालाई जोगाउँदै नयाँ प्रविधि, नयाँ दर्शक र बदलिँदो व्यावसायिक वातावरणले ल्याएका अवसरलाई आत्मसात् गर्नु आगामी दिनमा महत्वपूर्ण हुने बताएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटको दिगो भविष्य निर्माण गर्न आईसीसीले सदस्य राष्ट्रहरूलाई एकै ठाउँमा ल्याएर सहकार्यको वातावरण बनाउनुपर्ने पनि उल्लेख गरेका छन् । एजेन्सी