वीरगन्ज । छठ पर्व मनाउन मधेस प्रदेश पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा र स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाबीच पर्साको वीरगन्जमा भेटवार्ता भएको छ ।
छठ पर्व मनाउने क्रममा मधेस पुगेका धमलाले आज बिहान जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका थिए । त्यसपछि केही बेरअघि वीरगन्जमा कांग्रेस सभापति थापासँग उनको भेट भएको हो ।
भेटका क्रममा धमलाले आगामी स्थानीय तहको निर्वाचनमा दलीयभन्दा गैरदलीय उम्मेदवार उठाउनुपर्नेमा जोड दिएका छन् ।
विशेषगरी मधेस प्रदेशलाई कसरी समुन्नत, सभ्य र समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। सो अवसरमा धमलाले सरकारको विरोधमा मात्रै केन्द्रित नभई राजनीतिक दलहरूबीच सहकार्य गरेर देश विकासमा अघि बढ्नुपर्ने धारणा राखेका थिए।
समग्र मधेसको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने धमलाकाे भनाइ थियाे ।
त्यस्तै, केही दिनअघि भीमफेदीमा हायस दुर्घट्नामा परी सर्लाहीमा एकै परिवारका सात जनासहित १४ जनाको ज्यान गएकाे दुःखद घटनापछि अभिभावकविहीन तथा अलपत्र अवस्थामा रहेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिँदै निःशुल्क पढाउने विषयमा धमलाले थापासमक्ष प्रस्ताव राखेका थिए। धमलाको उक्त प्रस्तावप्रति सभापति थापाले सकारात्मक प्रतिक्रिया दिएका थिए।




प्रतिक्रिया