वीरगन्ज । मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको भन्दै यसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरीले तीनदिने विशेष सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसर पारेर सुरु गरिएको अभियानको उद्घाटन वीरगन्जस्थित घण्टाघरबाट गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोलीप्रसाद दाहालले अभियानको औपचारिक उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रमुख एसएसपी कृष्णबहादुर पल्ली मगरले यौनजन्य हिंसामुक्त समाज निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिए ।
उनले पछिल्लो समय मधेसका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटनाहरू देखिन थालेको उल्लेख गर्दै यस्ता अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार तीनदिने कार्यक्रम अघि बढाइएको बताए ।
यौनजन्य हिंसा नियन्त्रण प्रहरीको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले यसका लागि नागरिक समाज, विभिन्न संघसंस्था, विद्यार्थी तथा आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा पर्साका प्रहरी प्रमुख पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्रीलगायत नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
अभियानको उद्घाटनपछि घण्टाघरबाट सचेतनामूलक र्याली निकालिएको थियो । नगरका विभिन्न भागको परिक्रमा गरेको र्याली पुनः घण्टाघरमै पुगेर समापन भएको आयोजकले जनाएको छ ।




प्रतिक्रिया