काठमाडौं । जेनजी अभियन्ता सफलता बोगटीले वर्तमान प्रधानमन्त्री बालेन शाह नेतृत्वकाे सरकार विदेशी शक्तिको दबाब र प्रभावमा सञ्चालन भइरहेको आरोप लगाएकी छन् । सरकारले आफ्नै नीति तथा नियमअनुसार काम गर्न नसकेको भन्दै उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र जवाफदेहितामाथि असन्तुष्टि जनाइन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै बोगटीले सरकार कसको दबाब र प्रभावमा छ तथा कसका लागि काम गरिरहेको छ भन्ने प्रश्न उठाइन् ।
उनले नेपाली जनताको हितका लागि गठन भएको भनिएको सरकारले नागरिकमाथि नै दमन गरिरहेको आरोप लगाइन् । विगत ३५ वर्षदेखि नेपाली जनता शासकबाट शोषित हुँदै आएको उल्लेख गर्दै उनले सुशासनको नारा लिएर सत्तामा पुगेका नेतृत्वले आफ्नो कुर्सी र शक्ति जोगाउन विदेशी शक्तिको सहारा लिएको दाबी गरिन् ।
‘यो सरकार कस्काे दबाबमा छ ? यो सरकार कस्काे प्रभावमा छ ? यो सरकार कसका लागि काम गर्न आएको हो ?’ भन्दै उनले प्रश्न गरिन् ।
बोगटीले विदेशी प्रभावमा रहेर देशका महत्वपूर्ण निकाय तथा जिम्मेवारीमा विदेशी नागरिकलाई नियुक्त गर्ने प्रवृत्ति बढ्न सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरिन् । यस्तो अवस्था कायम रहे भविष्यमा नेपाली नागरिकले विदेशी शक्तिको प्रभाव र आर्थिक स्वार्थबाट थप शोषित तथा दमनमा पर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।
उनले सरकारका गतिविधिविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिइन् । तीन करोड नेपाली नागरिक एक ठाउँमा उभिएर सरकारको गलत कार्यशैलीको विरोध गर्नुपर्ने भन्दै उनले वर्तमान सरकारलाई बहिष्कार गर्नसमेत आह्वान गरिन् ।
‘हामी नेपाली सबै एक हुनुपर्छ । विदेशी शक्तिको आडमा बनेको यो सरकारलाई तीन करोड नेपाली नागरिकले बहिष्कार गरेर यसको आयु छोट्याउनुपर्छ,’ बोगटीले भनिन् ।
यसैगरी, बोगटीले सरकारले बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको विषयमा समेत आपत्ति जनाइन् । उनले आनी छोइङ नेपाली नागरिक नभई विदेशी नागरिक रहेको दाबी गर्दै यस्तो नियुक्ति कसरी गरियो भन्दै प्रश्न उठाइन् ।
देशका महत्वपूर्ण निकाय तथा जिम्मेवारीमा नियुक्ति गर्दा राष्ट्रियता र नागरिकताको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया