प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा. अमितसिंह कार्की


काठमाडौं । नेपाली कांग्रेसले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा धादिङका चिकित्सक डा. अमितसिंह कार्कीलाई मनोनीत गरेको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले कार्कीलाई अध्यक्षमा मनोनयन गरेका हुन्।

कार्तिक १९, २०८३ मा जारी मनोनयन पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम कार्कीलाई अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ।

मनोनयन पत्रमा कार्कीलाई पार्टीका स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै आगामी छ महिनाभित्र प्रजातन्त्रवादी चिकित्सक संघको महाधिवेशन सम्पन्न गर्न भनिएको छ। संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने विश्वाससमेत पत्रमा व्यक्त गरिएको छ।

नवनियुक्त अध्यक्ष कार्कीका लागि संगठनलाई सक्रिय बनाउनु, चिकित्सकहरूबीच एकता र सहकार्यको वातावरण निर्माण गर्नु तथा तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्नु प्रमुख चुनौती हुनेछन्।

चिकित्सा पेसासँगै सामाजिक सेवामा समेत सक्रिय कार्कीलाई सहकर्मी तथा शुभेच्छुकहरूले निडर, सक्षम र सेवाभावी व्यक्तित्वका रूपमा चित्रण गरेका छन्। ठूलालाई आदर र सानालाई माया गर्ने तथा दुःखमा परेकाहरूको सेवामा तत्पर रहने उनको स्वभावको प्रशंसा हुने गरेको छ।

प्रजातन्त्रवादी चिकित्सक संघ नेपाली कांग्रेसनिकट चिकित्सकहरूको संगठन हो। चिकित्सकहरूको पेशागत हकहितको संरक्षण, स्वास्थ्य क्षेत्रका नीतिगत तथा समसामयिक विषयमा पैरवी र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धन संघका प्रमुख कार्यक्षेत्र हुन्।

कार्कीको नेतृत्वमा संघले संगठनात्मक एकतालाई मजबुत बनाउँदै चिकित्सकका पेशागत मुद्दा र स्वास्थ्य क्षेत्रका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नु भने उनको नेतृत्वको पहिलो महत्त्वपूर्ण जिम्मेवारी हुनेछ।