काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले अदालतमा विचाराधीन विषयसँग जोडिएका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएको भन्दै सरकारको निर्णयप्रति आपत्ति जनाए । एउटा गलत निर्णय सच्याउनसमेत मन्त्रिपरिषद् असफल भएको उनले आरोप लगााए ।
‘एउटा गलत निर्णय अहिलेको मन्त्रिपरिषद्ले सच्याउन सक्दैन ? दुई तिहाइको दम्भमा जे पनि निर्णय पास गर्ने ?’ उनले भने ।
उनले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको दाबीसमेत गरे । उनका अनुसार उक्त पदका लागि अर्बौं रुपैयाँको डिल भएको छ । उनले यसमा लुम्बिनी विकास कोषका केही पदाधिकारीहरुकाेसमेत संलग्नता रहेको आरोप लगाए । साथै, नियुक्तिको उद्देश्य समग्र नेपाली जनताको सेवा नभई आर्थिक स्वार्थ र लगानीसँग जोडिएको उनको दाबी थियो ।
सिंहले उक्त प्रकरणमा आफूहरूसँग प्रमाण रहेको दाबी गर्दै विदेशी नम्बरबाट आएका फोन, विभिन्न व्यक्तिबीच भएका भनिएका कुराकानी तथा आर्थिक लेनदेनसँग सम्बन्धित विवरण सुरक्षित राखिएको बताए । आफूहरूले प्रमाण पेनड्राइभमा समेत सुरक्षित गरेको उल्लेख गर्दै उनले आवश्यक परे सार्वजनिक गर्न सकिने बताए।
सिंहले निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाइएको विषयलाई पनि सरकारको कार्यशैलीसँग जोड्दै आलोचना गरे । सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेको उल्लेख गर्दै उनले न्यायालयबाट सर्वसाधारणले निष्पक्ष न्याय पाउने अवस्था छ कि छैन भन्ने प्रश्न उठाए ।
सिंहले सरकारलाई लोकतान्त्रिक मूल्य, विधिको शासन र कानुनी प्रक्रियाको पालना गर्न आग्रह गरे । नागरिकले उठाएका आवाज दबाउने वा आन्दोलनलाई नियन्त्रण गर्ने प्रयास गरिए त्यसको राजनीतिक परिणाम गम्भीर हुन सक्ने चेतावनी पनि उनले दिए ।
‘हामी धेरै भूमिका बाँध्न चाहँदैनौँ । यो सरकारलाई विधिको शासन कायम गर्नुस्, लोकतन्त्र मान्नुस्, सबै कुरा कानुनअनुसार गर्नुस् भन्न चाहन्छौँ,’ उनले भने ।




प्रतिक्रिया