दानबहादुर कार्कीलाई सम्मानजनक बहिर्गमनको बाटो दिनुपर्छ : रास्वपा सहप्रवक्ता चौधरी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको विषयलाई थप विवादित बनाउन नहुने बताएका छन् ।

चौधरीले कार्कीलाई सम्मानजनक बहिर्गमन को बाटो दिनुपर्ने बताउँदै अदालत र सरकारले कानुनी तथा संस्थागत प्रक्रियामार्फत उपयुक्त निकास खोज्नुपर्ने धारणा राखेका हुन्।

उनका अनुसार प्रहरी नेतृत्व परिवर्तनको विषयलाई अनावश्यक रूपमा लम्ब्याउनु उचित हुँदैन। सम्बन्धित निकायले कानुनी प्रक्रिया, संस्थागत मर्यादा र व्यक्तिको सम्मानलाई ध्यानमा राखेर विवादको समाधान खोज्नुपर्ने उनको भनाइ छ।

सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद्को निर्णयमार्फत कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उक्त निर्णयपछि कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

कार्कीको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ बुधबार हुँदैछ ।

प्रहरी संगठनको नेतृत्व परिवर्तनजस्तो संवेदनशील विषयलाई कानुनी जटिलतामा अल्झाइराख्नुभन्दा सबै पक्षको सम्मान कायम हुने गरी उचित निकास दिनुपर्ने चौधरीको भनाइ छ ।