काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रिसोर्टमा विदेशी नागरिकहरूको गतिविधि शंकास्पद रहेको भन्दै स्थानीयबाट जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा मारेको हो ।
मंगलबार दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा खटिएको ३० सदस्यीय टोलीले रिसोर्टमा चेकजाँच गरेको थियो ।
सो क्रममा ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीले रिसोर्टका दुईवटा कोठामा खानतलासी गर्दा ठूलो संख्यामा ल्यापटप र मोबाइल फोनसमेत फेला पारेको जनाएको छ ।
रिसोर्टमा भेटिएका चिनियाँ नागरिकको गतिविधि तथा बरामद विद्युतीय उपकरणका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।




प्रतिक्रिया