शेन्जेन । विश्वका तीन प्रमुख महाशक्ति राष्ट्रका शीर्ष नेताहरू चिनियाँ सहर शेन्जेनमा पहिलोपटक एकैसाथ देखिएका छन्।
चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शेन्जेनमा आयोजित रात्रिभोज अघि रातो कार्पेटमा सँगै देखिएका हुन्।
रुसको क्रेमलिन प्रेस टोलीले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा यी तीनै नेताहरू एकसाथ उपस्थित भएको ऐतिहासिक दृश्य कैद भएको छ।
सार्वजनिक भिडियोमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी र उनकी पत्नी नजिकै उभिएको अवस्थामा रुसी राष्ट्रपति पुटिन उनीहरूतर्फ अघि बढेको देखिन्छ।
सन् २०२५ को अगस्टमा अलास्कामा भएको रुस–अमेरिका शिखर वार्तापछि ट्रम्प र पुटिनबिच यो पहिलो प्रत्यक्ष भेट हो। लामो समयपछिको भेटमा ट्रम्प र पुटिनले सुरुमा हात मिलाउँदै र काँध थपथपाएर न्यानो अभिवादन साटासाट गरेका थिए।
विश्व राजनीतिमा सी, ट्रम्प र पुटिन सार्वजनिक रूपमा एकसाथ एउटै फ्रेममा देखिएको यो पहिलो अवसर हो। आयोजक चिनियाँ राष्ट्रपति सी, अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबिच शेन्जेनमा हुन लागेको दुर्लभ त्रिपक्षीय बैठकका लागि ट्रम्प त्यहाँ पुगेका हुन्।
तीन देशका शीर्ष नेताहरूबीच भोलि दिउँसो औपचारिक त्रिपक्षीय वार्ता हुने कार्यतालिका छ।




प्रतिक्रिया