काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा


काठमाडौं । काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा जित निकाल्दै चितवनले पहिलोपटक क्वालिफायरमा स्थान बनाएको हो।

चितवनले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो।

काठमाडौंको ब्याटिङ धराशायी बनाउन चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा १६ रन खर्चेर चार विकेट लिए। यससँगै जारी प्रतियोगितामा उनको विकेट संख्या १६ पुगेको छ। उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।

उसामा मिरले पनि कसिलो बलिङ गर्दै १५ रन दिएर तीन विकेट हात पारे। सहाहुद्दिन खान र कुशल मल्लले एक–एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा काठमाडौंका विलियम वसिस्टोले सर्वाधिक ३७ रन बनाए। उनले २८ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। सेहानले २४ तथा रसिद खानले १२ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले चार विकेटको क्षतिमा २०४ रनको विशाल योगफल तयार पारेको थियो। यो जारी एनपीएलको तेस्रो ठूलो स्कोर हो।

चितवनको इनिङ्समा ओपनर कमिल मिश्राराले विस्फोटक ब्याटिङ गर्दै १२० रन बनाए। उनले ५३ बलमा चार चौका र आठ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए। योसँगै उनी एनपीएल इतिहासमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। यसअघि कर्णाली याक्सका मार्क वाटले बनाएको ११४ रनको कीर्तिमान मिश्राराले तोडेका हुन्।

मिशारा र कप्तान रवि बोपाराबीच तेस्रो विकेटका लागि १५४ रनको महत्वपूर्ण साझेदारी भएको थियो। आफ्नो करियरको ५००औँ खेल खेलिरहेका बोपाराले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५३ रन बनाए। उनी रसिद खानको बलमा बोल्ड भए।

चितवनका देव खनालले १७ रन बनाए भने डेविड मलान खाता नखोल्दै आउट भए। विवेक यादवले आठ रन जोडे। काठमाडौंका करण केसी र रसिद खानले समान दुई विकेट लिए।

अब चितवनले दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो। फाइनल प्रवेशका लागि दुवै टोलीबीच प्रतिस्पर्धा हुनेछ।