२ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा सरकारले उच्च तहका व्यक्तिहरूमाथि समेत कारबाही अघि बढाएको छ। मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। उनीहरूसँगै तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका पूर्वप्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
यस घटनालाई श्रमिक ठगीमा संलग्न व्यक्तिमाथि मात्रै नभई नीतिगत निर्णय प्रक्रियामा रहेका उच्च पदस्थ व्यक्तिहरूमाथि समेत अनुसन्धान र कारबाही अघि बढाइएको घटनाका रूपमा हेरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर मंसिर २ गते काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपाल र मलेसियाबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय गरिएको थियो। यसरी ८ करोड ३७ लाख ४ हजार ३९ अमेरिकी डलर र ३ करोड ७१ लाख ७९ हजार ८८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेश पठाउने निर्णय भएको आरोप छ।
सम्झौता र कानुनी प्रक्रिया उल्लंघन गर्दै अधिकार क्षेत्रभन्दा बाहिर गएर रकम विदेश पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको सीआईबीको दाबी छ।
श्रमिकमाथि भएको संगठित ठगी रोक्न पहल नगरेको, पीडितलाई कानुनी उपचारको बाटो नखोलेको र गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णयमा भूमिका खेलेको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।





प्रतिक्रिया