आगामी निर्वाचन फासीवादी र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछ : बादल


३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको संघर्ष हुने बताएका छन्।

काठमाडौंमा आयोजित पार्टीको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन सामान्य नहुने उल्लेख गर्दै पार्टीभित्र एकता सुदृढ गर्नुपर्नेमा जोड दिए।

थापाले गत निर्वाचनमा एमालेले आफ्ना कमजोरी पहिचान गर्न, प्रमुख प्रतिद्वन्द्वी चिन्न र आपसी सहकार्य गर्न नसकेको बताए। जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसक्नु पनि पार्टीको कमजोरी रहेको उनको भनाइ थियो।

उनले आगामी निर्वाचनमा सफलता हासिल गर्न पार्टी एकता मजबुत बनाउँदै जनतासँगको सम्बन्ध विस्तार गर्नुपर्ने बताए। साथै, स्थानीय तह, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्नुपर्ने धारणा राखे।

भेलालाई पार्टी पुनर्निर्माण, राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक आन्दोलनको तयारी तथा आगामी निर्वाचनको रणनीति तय गर्ने अवसरका रूपमा व्याख्या गर्दै थापाले यसलाई नयाँ एकता र संकल्पको अभिव्यक्ति भएको बताए।