३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो ।
प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । यद्यपि, केही खेल औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन् । प्रतियोगिताको उद्घाटन तथा समापन समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना हुनेछ ।
प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन् । जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन् । त्यसैगरी, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुने राखेपले जनाएको छ ।
प्रतियोगिताका लागि १ हजार ३० जना निर्णायक परिचालन गरिनेछ । तीमध्ये २५८ जना अन्तर्राष्ट्रिय र ७७२ जना राष्ट्रिय निर्णायक रहनेछन् । साथै, खेल संघका ९६ प्रतिनिधिको पनि सहभागिता हुनेछ ।
प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा सञ्चालन हुनेछन् । सुर्खेतमा २३, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना गरिनेछ ।
राखेपले यसपटक व्यक्तिगत र टिम स्पर्धाका पदक विजेतालाई नगद पुरस्कारसमेत दिने व्यवस्था गरेको छ । व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै, टिम स्पर्धामा स्वर्ण जित्ने टोलीले १५ हजार, रजत जित्नेले १० हजार र कांस्य जित्नेले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कार दिने व्यवस्था पहिलोपटक गरिएको राखेपले जनाएको छ ।
पटकपटक मिति सर्दै आएको १०औँ राष्ट्रिय खेलकुदको पछिल्लो मिति राखेपको १२५औँ बोर्ड बैठकले २०८३ साउन २८ गते निर्धारण गरेको थियो ।




प्रतिक्रिया