काठमाडौं । हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आवतजावत गर्ने सडकमा आज यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले बिहीबार सूचना जारी गर्दै मंसिर ४ गते शुक्रबार उक्त सडकखण्डमा भाडाका सवारी साधन सञ्चालन गर्न नपाइने जानकारी दिएका हुन् ।
प्रशासनले आज काठमाडौं र हेटौँडाबीच आवतजावत गर्ने यात्रुलाई उक्त सडकको विकल्पमा कान्तिलोकपथ प्रयोग गर्न अनुरोध गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ त्रिखण्डीस्थित प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा हरिबोधनी एकादशीका अवसरमा मेला तथा जात्रा लाग्ने भएकाले सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
मेलाका क्रममा मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने तथा उक्त क्षेत्रको सडक साँघुरो र भिरालो भौगोलिक बनावटको भएकाले सवारी आवागमनमा समस्या हुन सक्ने प्रशासनको भनाइ छ ।
भक्तजनको सुरक्षा तथा यात्रुवाहक सवारी साधनको आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।





प्रतिक्रिया