५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने फाइनल खेलले यस संस्करणको च्याम्पियन टुंगो लगाउनेछ।
लगातार दोस्रो पटक फाइनलमा आमनेसामने हुन लागेका यी दुई टोलीबीचको भिडन्तलाई उपाधि रक्षाको चुनौती र पहिलो उपाधिको खोजीका रूपमा हेरिएको छ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै हराउँदै लुम्बिनीले उपाधि उचालेको थियो। यसपटक पनि सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी छ भने सुदूरपश्चिम पुरानो हारको बदला लिँदै पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरबाट फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो। लिग चरणको भेटमा समेत लुम्बिनीले सुदूरपश्चिममाथि ७ विकेटको जित निकालेको थियो।
तर, पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको उपाधि यात्रा रोकिएन। दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गर्यो। लिग चरणमा १० अंक जोड्दै दोस्रो स्थानमा रहेको सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको टोली हो।
सुदूरपश्चिमका लागि यसपटकको फाइनल विगतका दुई हारको पीडा मेटाउने अवसरसमेत हो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग रोकिएको थियो। लगातार तीन पटक फाइनल पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक त्यो इतिहास बदल्ने लक्ष्यमा मैदान उत्रिनेछ।
लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेका दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बटुलेका खेलाडी छन्। त्यसैले फाइनलमा कप्तानी रणनीति, ब्याटिङ र बलिङको प्रदर्शन तथा दबाबमा खेलाडीले देखाउने धैर्यले नतिजा निर्धारण गर्न सक्छ।
एकातिर साविक विजेता लुम्बिनी उपाधि रक्षा गर्ने अभियानमा छ भने अर्कोतिर लगातार दुई फाइनलमा निराश बनेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ। अब कीर्तिपुरको मैदानमा हुने आजको भिडन्तले एनपीएलको नयाँ च्याम्पियनको टुंगो लगाउनेछ।




प्रतिक्रिया