काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा बारम्बार हिंसा, आगजनी तथा तोडफोडको बाटो रोजेर मुलुक अघि बढ्न नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले राजनीतिक असन्तुष्टिलाई विध्वंसको माध्यमबाट अभिव्यक्त गर्ने प्रवृत्तिको विरोध गरेका हुन्।
विगतका शासक अयोग्य भए पनि त्यसको जवाफ हिंसा र विनाश हुन नसक्ने उनको भनाइ थियो। राजनीतिक परिवर्तनको नाममा हुने आगजनी, तोडफोड र विध्वंसले देशलाई ठूलो क्षति पुर्याउने भन्दै उनले कुनै पनि बहानामा त्यस्ता गतिविधिलाई उचित ठहर्याउन नमिल्ने बताए।
ज्ञवालीले सङ्क्रमणकालीन न्याय प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै त्यसलाई गत वर्ष भएका हिंसात्मक घटनाको औचित्य पुष्टि गर्ने आधार बनाउन नमिल्ने धारणा राखे। कुनै व्यक्ति वा समूह अयोग्य भए त्यसलाई कारबाही गर्न कानुनी बाटो हुँदाहुँदै विध्वंसको सहारा लिनु उचित नहुने उनको भनाइ थियो।
उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्ने आवश्यकतासमेत औँल्याए।
‘द्वन्द्वका घटना नदोहोरिउन् भन्नका लागि न्यायको पक्षलाई सम्बोधन गर्नैपर्छ । तर आजको पहिलो आवश्यकता सत्य स्थापित गर्नु हो, र त्यसका लागि तत्काल आयोग गठन हुनुपर्छ,’ ज्ञवालीले भने।
नेपालको शान्ति प्रक्रिया कुनै एक दलको मात्र नभई सबै राजनीतिक दलको साझा एजेन्डा भएको उल्लेख गर्दै उनले नयाँ सरकारले पनि यसलाई साझा प्रतिबद्धताका रूपमा अघि बढाउनुपर्ने आग्रह गरे।




प्रतिक्रिया