शान्ति प्रक्रिया टुंग्याउने दायित्वबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल


काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारीबाट वर्तमान सरकार उम्किन नमिल्ने बताएकी छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै भुसालले विगतका राजनीतिक दलले सुरु गरेको प्रक्रिया भन्दै वर्तमान सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताइन्।

संविधानमै शान्ति प्रक्रियासम्बन्धी व्यवस्था समेटिएको उल्लेख गर्दै उनले संविधान स्वीकार गर्ने सरकारले त्यसको कार्यान्वयनको जिम्मेवारी पनि लिनुपर्ने धारणा राखिन्।

‘हिजोको शान्ति प्रक्रियाको जिम्मेवारी हाम्रो होइन भनेर सरकार पन्छिन मिल्दैन, यो राज्यको दायित्व हो,’ भुसालले भनिन्।

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्दा शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज तथा मानव अधिकारवादी सङ्घसंस्थासँग समन्वय गर्नुपर्नेमा जोड दिइन्।

आयोग गठन गर्नु मात्रै पर्याप्त नहुने भन्दै उनले त्यसलाई पारदर्शी, जवाफदेही र विश्वसनीय ढङ्गले अघि बढाउने सरकारको इमानदार प्रतिबद्धता आवश्यक रहेको बताइन्।

भुसालले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन गर्नु राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै सडकमा बसेर शान्ति प्रक्रिया टुंग्याउन नसकिने बताइन्। त्यसका लागि राज्यले नै आवश्यक संरचना र संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

दक्षिण अफ्रिकामा नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको नेतृत्वमा अघि बढाइएको सङ्क्रमणकालीन न्याय प्रक्रियाको उदाहरण दिँदै उनले नेपालमा पनि राजनीतिक सहमति र साझा प्रतिबद्धताका आधारमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताइन्।