बेइजिङ । चीनले समुद्रमा कार्बन डाइअक्साइड (सिओ–२) सङ्कलन गरी भूमिगत भण्डारण गर्ने आफ्नो परियोजनालाई अघि बढाएको छ ।
चीनको सरकारी तेल तथा ग्यास कम्पनी सीएनओओसीले दक्षिण चीनको हाइनान प्रान्तस्थित डोङफाङ १–१ ग्यास क्षेत्रमा कार्बन सङ्कलन तथा भण्डारण परियोजनाका लागि बनाइएको १७ हजार टनको केन्द्रीय प्लेटफर्म जहाजमा राखिएको जनाएको छ ।
शुक्रबार प्लेटफर्म जहाजमा लोड भएसँगै स्थलमा निर्माण कार्य सम्पन्न भएको र अब समुद्रमा ढुवानी तथा जडानको चरण सुरु भएको हो । उक्त प्लेटफर्म डिसेम्बरमा समुद्रमा जडान गर्ने तयारी छ ।
परियोजना सञ्चालनमा आएपछि दैनिक अधिकतम १७ लाख ५० हजार घनमिटर कार्बन डाइअक्साइड शुद्धीकरण गर्न र वार्षिक १० लाख टनभन्दा बढी कार्बन डाइअक्साइड भूमिगत रूपमा स्थायी भण्डारण गर्न सकिने कम्पनीले जनाएको छ ।
यो चीनको समुद्रमा कार्बन इन्जेक्सन प्रविधि प्रयोग गरी प्राकृतिक ग्यास उत्पादन बढाउने पहिलो ‘डेमो’ परियोजना हो । दक्षिण चीन सागरको उत्तरी भागस्थित यिङगेहाई समुद्री क्षेत्रमा रहेको डोङफाङ १–१ ग्यास क्षेत्र चीनको सबैभन्दा ठुलो स्वदेशी सञ्चालनको समुद्री ग्यास क्षेत्र हो । सन् २००३ मा उत्पादन सुरु भएयता यसले ५० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यास उत्पादन गरिसकेको छ ।
ग्यास क्षेत्र विकासको मध्य तथा पछिल्लो चरणमा प्रवेश गरेसँगै प्राकृतिक ग्यास उत्पादन घट्दै गएको र त्यससँगै निस्कने कार्बन डाइअक्साइडको मात्रा बढ्दै गएको छ । यस समस्याको समाधानका लागि नयाँ प्रविधि प्रयोग गर्न लागिएको चाइना मिडिया ग्रुपले जनाएको छ ।
२८ तलाभन्दा अग्लो उक्त केन्द्रीय प्लेटफर्मको कुल डेक क्षेत्रफल १० हजार वर्गमिटरभन्दा बढी छ । यसले समुद्रमा कार्बन डाइअक्साइड सङ्कलन, शुद्धीकरण, भण्डारण र ग्यास उत्पादन बढाउने प्रक्रियालाई एउटै प्रणालीमा जोड्नेछ । परियोजनाका सबै प्रमुख उपकरण चीनमै उत्पादन गरिएका हुन् । परम्परागत प्रविधिको तुलनामा यसले ऊर्जा खपत २० प्रतिशत घटाउने र प्राकृतिक ग्यास पुनः प्राप्ति दर १२ प्रतिशतभन्दा बढी बढाउने कम्पनीको दाबी छ ।
कार्बन इन्जेक्सन प्रविधिमा प्राकृतिक ग्यास उत्खननका क्रममा निस्कने कार्बन डाइअक्साइडलाई खेर जाने पदार्थका रूपमा नभई उपयोगी स्रोतका रूपमा प्रयोग गरिन्छ । कार्बन डाइअक्साइड सङ्कलन, शुद्धीकरण र उच्च दबाबमा राखेर पुनः ग्यास रहेको भूगर्भीय संरचनामा पठाइन्छ । यसले दबाब सिर्जना गरी उत्खनन गर्न कठिन अवस्थामा रहेको प्राकृतिक ग्यासलाई बाहिर निकाल्न मद्दत गर्छ ।
सञ्चालनमा आएपछि उक्त प्लेटफर्म यिङगेहाई समुद्री क्षेत्रका अन्य १२ वटा संरचनासँग जोडिनेछ ।
उद्योग क्षेत्रका एक जानकारका अनुसार चीनको कुल कार्बन उत्सर्जनको करिब आधा हिस्सा समुद्री तटीय प्रान्तहरूबाट हुन्छ । यद्दपि ती क्षेत्रमा कार्बन भण्डारण गर्न उपयुक्त स्थल जमिनमा मात्र सीमित छन् । त्यसैले समुद्रमा भूगर्भीय भण्डारण उत्सर्जन घटाउने महत्त्वपूर्ण विकल्प बनेको छ ।
डोङफाङ १–१ परियोजनाले पुरानो ग्यास क्षेत्रको उत्पादन अवधि लम्ब्याउनुका साथै चीनको समुद्री कार्बन सङ्कलन तथा भण्डारण प्रविधि विस्तारको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
यसअघि चीनले पर्ल नदी आसपासको समुद्री क्षेत्रमा रहेको एनपिङ १५–१ तेल क्षेत्रमा पहिलो समुद्री तेलक्षेत्र कार्बन सङ्कलन तथा भण्डारण परियोजना र हाइनानस्थित लेडोङ १५–१ ग्यास क्षेत्रमा पहिलो समुद्री ग्यासक्षेत्र कार्बन सङ्कलन तथा भण्डारण परियोजना सञ्चालनमा ल्याइसकेको छ ।




प्रतिक्रिया