५ मंसिर, काठमाडौं। नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवालले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा नेपाल–भारत व्यापार विस्तार, पारवहन सुविधा, निर्यात प्रवर्द्धन तथा निजी क्षेत्रका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अग्रवालले भारत नेपालको प्रमुख व्यापारिक साझेदार रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक रहेको बताए।
उनका अनुसार गत वर्ष भारतबाट नेपालमा १ हजार २१० अर्ब रुपैयाँ बराबरको आयात हुँदा नेपालबाट भारततर्फ २५८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो। जसका कारण ९५२ अर्ब रुपैयाँ व्यापार घाटा रहेको उनले बताए।
“नेपालको कुल वैदेशिक व्यापारको झन्डै ६० प्रतिशत भारतसँग रहेको देखिन्छ। आयातको करिब ५७ प्रतिशत भारतबाट हुने गरेको छ भने नेपालको कुल निर्यातमध्ये झन्डै ८३ प्रतिशत भारततर्फ हुने गरेको छ। यसले भारतलाई नेपालको एउटा स्ट्रङ इकोनोमिक पार्टनरका रूपमा स्थापित गरेको छ,” अग्रवालले भने।
उनले व्यापार घाटा न्यूनीकरण गर्न भारतसँगको व्यापार सम्झौता पुनरावलोकन गर्दै नेपाली उत्पादनको निर्यातमा सहजता ल्याउनुपर्ने बताए। हाल ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै निर्यात गर्न सकिने व्यवस्थालाई घटाएर २० प्रतिशतमा झार्न सके निर्यात बढ्ने उनको भनाइ छ।
त्यस्तै, नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी–डम्पिङ ड्युटी हटाउन, नेपाल स्ट्यान्डर्ड (NS) लाई भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (BIS) बाट मान्यता दिलाउन तथा गैर–भन्सार अवरोध हटाउन भारतसँग पहल गर्नुपर्ने उनले बताए।
आयात लागत घटाउन धाम्रा, मुन्द्रा र काण्डला बन्दरगाह प्रयोगको सुविधा नेपाललाई उपलब्ध गराउनुपर्ने माग गर्दै अग्रवालले कलकत्ता बन्दरगाहको चाप र सीमित क्षमताका कारण नेपाली आयातकर्ताले समस्या भोगिरहेको बताए।
“यदि धाम्रा र मुन्द्रा बन्दरगाह हामीलाई उपलब्ध गराउन सकियो भने आयातकर्ताहरूको लागतमा ठूलो सहजता हुनेछ। अहिलेको प्रतिस्पर्धात्मक अवस्थामा यस्ता सुविधाहरू नेपाललाई धेरै आवश्यक छन्,” उनले भने।
कृषिजन्य वस्तुको निर्यात प्रवर्द्धनका लागि दुई देशबीच सहज व्यापार पहुँच, सीमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका क्वारेन्टाइन प्रयोगशाला स्थापना तथा एकीकृत जाँच चौकी (ICP) निर्माणलाई तीव्रता दिनुपर्नेमा पनि उनले जोड दिए।
ऊर्जा तथा पूर्वाधार विकासमा भारतसँग सहकार्य विस्तार गर्न अमलेखगञ्जसम्म रहेको ग्यास पाइपलाइन चितवन, बिर्तामोड र सर्लाहीसम्म विस्तार गर्नुपर्ने, रक्सौलबाट काठमाडौंसम्म रेलमार्ग निर्माण गर्नुपर्ने तथा दुई देशबीच हवाई कनेक्टिभिटी बढाउनुपर्ने उनको सुझाव छ।
”भारतका टियर सिटीहरूसँग हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरू जोड्न सक्यौँ भने पर्यटनको ठूलो सम्भावना खुल्छ। भारतीय पर्यटकहरू अहिले पनि रक्सौलबाट गाडीमा पोखरा हुँदै मुक्तिनाथ पुगिरहेका छन्। हवाई कनेक्टिभिटी विस्तार गर्न सके पर्यटन प्रवर्द्धनमा थप सहजता हुन्छ,” अग्रवालले बताए।
नेपाल–भारतबीच क्रस बोर्डर डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उनले भारतीय बजारमा नेपालीले क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्न आग्रह गरे। साथै, पञ्चेश्वर जलविद्युत् आयोजनाको डीपीआर निर्माण प्रक्रिया अघि बढाउन सके ५ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादनको सम्भावना रहेको उनले बताए।
त्यसैगरी, नेपालले भारतको राशन कार्डलाई र भारतले नेपालको राष्ट्रिय परिचयपत्रलाई पारस्परिक रूपमा मान्यता दिनुपर्नेमा पनि उनले जोड दिए।




प्रतिक्रिया