काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभावसँगै पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो मधेस र कोशी प्रदेशका साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
कोशी प्रदेशको तराई भूभागका साथै मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
सोमबारको मौसम
सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसममा आंशिक बदली र वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।




प्रतिक्रिया