वासिङ्टन, ६ मङ्सिर । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ ।
घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ । ती व्यक्तिले नाम सार्वजनिक नगर्ने सर्तमा एसोसिएटेड प्रेस (एपी) लाई यसबारे जानकारी दिएका हुन् । यसअघि सीएनएनले पनि सम्भावित ह्याकिङबारे समाचार प्रकाशित गरेको थियो ।
नेसनल क्राइम इन्फर्मेसन सेन्टर (एनसीआईसी) नामक उक्त कम्प्युटर प्रणालीमा आपराधिक न्यायसँग सम्बन्धित महत्त्वपूर्ण सूचना सङ्ग्रह गरिन्छ । यसमा फरार अभियुक्त, बेपत्ता व्यक्ति, आपराधिक इतिहास, चोरी भएका सम्पत्ति तथा अन्य कानुन कार्यान्वयनसम्बन्धी विवरण समावेश छन् ।
उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन् । सम्भावित साइबर आक्रमणबारे शनिबार प्रतिक्रिया माग्दा एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको एपीले जनाएको छ ।
एनसीआईसी अमेरिकाको कानुन कार्यान्वयन प्रणालीका लागि महत्त्वपूर्ण सूचना स्रोत भएकाले यसमा भएको सम्भावित अनधिकृत प्रवेशले आपराधिक सूचना तथा सुरक्षा व्यवस्थासम्बन्धी गम्भीर चासो उत्पन्न गरेको छ ।
यद्यपि, ह्याकिङको प्रकृति, यसमा संलग्न पक्ष तथा कुन–कुन सूचना प्रभावित भए भन्नेबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । रासस




प्रतिक्रिया