नेपाल–भारत नीति संवाद: अर्थशास्त्रीले औल्याए वातावरण निर्माण भए भारतबाट जलविद्युत र पर्यटनमा लगानीको ओइरो


काठमाडौं, ६ मंसिर । नेपाल र भारतका अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरुले दुई देशबीच आर्थिक गतिविधिलाई बढावा दिन संयुक्त लगानी र आपूर्तिमा सहजतामा जोड दिएका छन् । काठमाडौंमा भइरहेको नेपाल–भारत नीति संवादमा आइतबार बोल्दै उहाँहरुले नेपालको जलविद्युत, जडिबुटी र पर्यटनका क्षेत्रमा भारतबाट अपार लगानीको सम्भावना औल्याए ।

राजनीतिक विश्लेषक अरुण सुवेदीले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणमा नेपालबाट भूराजनीतिक अन्यौल सदाका लागि दूर हुने विश्वास व्यक्त गरे। भूराजनीति र बदलिंदो विश्व व्यवस्थालाई पहिचान गरेर अघि बढेमात्र दुई देशबीच विद्यमान समस्या समाधानतर्फ जाने उनको तर्क छ । सुवेदीले भने, ‘नेपालको विदेश नीतिको सिद्धान्त नै ठिक ठाउँमा छैन । भूराजनीतिक अन्यौल पहिले दूर गर्नुपर्छ । पहिले भूराजनीति र विश्व व्यवस्थालाई बुझ्नुपर्छ अनि सबै समस्या समाधानतर्फ जान्छ ।’

भारतविरोधी राष्ट्रवादलाई नै राष्ट्रवाद मान्ने गतिविधिले सम्बन्ध बिगार्नुका साथै नेपालको आर्थिक प्रगति नै रोकेको उनले बताए । उनले भने, ‘जबसम्म भूराजनीतिक सुस्पष्टता आउँदैन तबसम्म अन्य मुद्दाहरुको निक्र्यौल हुँदैन ।’

भारतकी प्राध्यापक डा.निशा तनेजाले नेपालमा बाह्य लगानीको अपार सम्भावना रहेको बताइन् । जलस्रोतका अलावा औषधी, खाद्य उत्पादनका साथै आइटीमा भारतको लगानी आउनसक्ने उनकाे भनाइ छ । नेपालबाट लगानीको राम्रो वातावरण निर्माण भएमा भारतीय लगानी आकर्षित हुने उनले बताइन् ।

जेएनयूका अन्तर्राष्ट्रय सम्बन्धका प्राध्यापक राजेश खराटले शैक्षिक सम्बन्धलाई अझ फराकिलो बनाउने नीतिहरु बनाउँदै जानुपर्ने बताए । भारतको नेपालसँगको सीमा क्षेत्रमा नेपाल अध्ययन केन्द्र र नेपालतर्फको भारतसँगको सीमा क्षेत्रका राज्यहरुमा भारत अध्ययन केन्द्र स्थापनामा जोड दिए । दुई देशबीचको अध्ययन केन्द्रले शिक्षाका माध्यमले सामिप्यता बढ्नुका साथै एक अर्काबारे थप अध्ययनबाट साझेदारीका सम्भावना बढ्ने आशा व्यक्त गरे ।

भारतका अर्थशास्त्री डा. पंकज बशिष्ठले जलस्रोतका क्षेत्रमा देखिएका समस्याको समाधान खोजेर थप उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालसँग एक लाख मेगावाट क्षमता छ जसको उत्पादन होस् भन्ने भारत चाहन्छ ।’