प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटेर होटलबाट बाहिरिए जयशंकर


नयाँदिल्ली । भारतीय विदेशमन्त्री डा. एस. जयशंकर नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेपछि होटल ताजमहलबाट बाहिरिएका छन्।

आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाल (कनेक्टिभिटी), व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।

त्यसैगरी, नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा समेत छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहसँगको भेटपछि जयशंकरले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच सोमबार हुने उच्चस्तरीय द्विपक्षीय वार्ताको तयारीका विषयमा छलफल भएको हो।

भेटका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीसहित दुवै देशका प्रतिनिधिमण्डलबीच हुने औपचारिक वार्तामा उठाइने विषय, साझा सन्देश तथा सम्भावित सम्झौताबारे कुराकानी भएको बताइएको छ।

त्यसैगरी, दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा अघि बढाइने विभिन्न परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवैसँग भेटवार्ता गरेका जयशंकर होटल ताजमहलमा करिब चार घण्टा बसेका थिए। उनी राति १० बजेर ३३ मिनेटतिर होटलबाट बाहिरिएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत पुगेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हुने उच्चस्तरीय वार्तामा दुई देशबीचको आर्थिक, कूटनीतिक तथा विकास साझेदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।